हिब्रू 1 - नेपाली नयाँ संशोधित संस्करणस्वर्गदूतहरूभन्दा पुत्र श्रेष्ठ 1 प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। 2 तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। 3 उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो। 4 जसरी उहाँले प्राप्त गर्नुभएको नाउँ स्वर्गदूतहरूका भन्दा उत्तम छ, त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्च ठहरिनुभएको छ। 5 “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्माएको छु” भनी के कुनै स्वर्गदूतलाई परमेश्वरले कहिल्यै भन्नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्” भनी कुनै स्वर्गदूतलाई कहिल्यै भन्नुभयो? 6 आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ फेरि भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई नै पुजून्।” 7 स्वर्गदूतका विषयमा उहाँ भन्नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास र आफ्ना दासहरूलाई आगोको ज्वाला तुल्याउनुहुन्छ।” 8 तर पुत्रको विषयमा चाहिँ उहाँ भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ, र न्यायको राजदण्ड तपाईंका राज्यको राजदण्ड हो। 9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई आफ्ना साथीहरूभन्दा बढ्ता गरेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।” 10 उहाँ फेरि भन्नुहुन्छ, “हे परमप्रभु, तपाईंले आदिमा पृथ्वीको जग बसाल्नुभयो, र आकाशमण्डल तपाईंका बाहुलीको काम हो। 11 तिनीहरू त नष्ट हुनेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ। तिनीहरू वस्त्रझैँ पुराना भइहाल्नेछन्, 12 खास्टोझैँ तपाईंले तिनीहरूलाई लपेट्नुहुन्छ, वस्त्रझैँ ती फेरिनेछन्। तर तपाईं एकैनास हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।” 13 तर कुन स्वर्गदूतलाई उहाँले कहिले यसो भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ”? 14 के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन्? |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society