Aanlyn Bybel

- Advertensies -

दानिएल 1 - नेपाली नयाँ संशोधित संस्करण


बेबिलोनमा दानिएलको तालिम

1 यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आएर त्‍यसलाई घेरे।

2 अनि परमप्रभुले परमेश्‍वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्‍पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्‍ना देवताको मन्‍दिरमा लगे र देवताकै भण्‍डारमा राखे।

3 तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्‍येबाट राजकीय खानदान र सभ्‍य खानदानका केही जवान मानिसहरू छान्‍नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे।

4 ती जवान मानिसहरू कुनै शारीरिक खोट नभएका, सुन्‍दर, हरकिसिमका शिक्षा सिक्‍ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्‍न सक्‍ने र राजदरबारमा सेवा गर्नलाई योग्‍य हुनुपर्थ्‍यो। अशपेनजले उनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्‍य सिकाउनुपर्थ्‍यो।

5 राजाले उनीहरूलाई राजदरबारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनू भनी अशपेनजलाई हुकुम गरे। उनीहरूलाई तीन वर्षसम्‍म तालीम दिनुपर्थ्‍यो, र त्‍यसपछि उनीहरू राजाको सेवामा प्रवेश गर्नुपर्थ्‍यो।

6 यीमध्‍ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह।

7 प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्‍याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‌नगो।

8 तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे।

9 अनि परमेश्‍वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्‍याउनुभयो,

10 तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्‍बन्‍धमा मलाई खटाउनुहुने मेरा स्‍वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्‍दा तिमीहरू उहाँको सामु किन कमसल अवस्‍थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।”

11 त्‍यसपछि दानिएल, हनन्‍याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने,

12 “कृपया, तपाईंका दासहरूलाई दश दिनसम्‍म जाँच्‍नुहोस्‌। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्‌।

13 त्‍यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्‍नुहोस्‌ र तपाईंले देख्‍नुभएअनुसार आफ्‍ना दासहरूसँग व्‍यवहार गर्नुहोस्‌।”

14 यसकारण उनले यो कुरा मन्‍जूर गरे र दश दिनसम्‍म तिनीहरूको जाँच गरे।

15 दश दिनपछि राजकीय खाना खाएका ती अन्‍य जवानहरूभन्‍दा तिनीहरू स्‍वस्‍थ र पुष्‍ट देखिए।

16 यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएका मीठा-मीठा खाना र दाखमद्य हटाएर तिनीहरूलाई सागपात दिए।

17 यी चार जवान मानिसहरूलाई परमेश्‍वरले सब किसिमका साहित्‍य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्‍न सक्‍ने भए।

18 राजाले तिनीहरूलाई हाजिर गराउनू भनी तोकेको समय भएपछि ती प्रमुख अधिकृतले तिनीहरूलाई राजा नबूकदनेसरकहाँ ल्‍याए।

19 राजाले तिनीहरूसँग कुरा गरे र उनले दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह बराबर कोही पनि भेट्टाएनन्‌। यसकारण तिनीहरू राजाको सेवामा नियुक्त भए।

20 राजाले बुद्धि र समझको बारेमा तिनीहरूलाई जे-जति प्रश्‍न सोध्‍थे, अधिराज्‍यभरका जादूगरी र मन्‍त्रतन्‍त्र गर्नेहरूभन्‍दा तिनीहरूलाई दश गुणा असल भेट्टाए।

21 अनि कोरेस राजाका शासनकालको पहिलो वर्षसम्‍म दानिएल त्‍यहाँ रहे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Volg ons:



Advertensies