आमोसको पुस्तक 1 - नेपाली नयाँ संशोधित संस्करणइस्राएलका छिमेकीहरूमाथि परमेश्वरको न्याय 1 तकोमा बस्ने गोठालाहरूमध्येका एक जना आमोसका वचन— यहूदाका राजा उज्जियाह र येहोआशका छोरा इस्राएलका राजा यारोबामका पालामा, भूकम्पका दुई वर्षअघि इस्राएलको विषयमा तिनले देखेका कुरा यी नै हुन्। 2 तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुन्छ, र उहाँ यरूशलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्छ। गोठालाहरूका खर्कहरू र कर्मेलको टाकुरो सुक्छन्।” 3 परमप्रभु यसो भन्नुहुन्छ: “दमस्कसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले गिलादलाई फलामको दाँते घनले दाइँ गरेको हुनाले, 4 म हजाएलको घरमा आगो पठाइदिनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ। 5 म दमस्कसको मूल ढोका भाँचिदिनेछु। आवनको उपत्यकामा भएको राजालाई र बेथ-अदनमा राजदण्ड लिनेलाई सर्वनाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभुले भन्नुहुन्छ। 6 परमप्रभु यसो भन्नुहुन्छ: “गाजाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले सम्पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्पिदिनलाई कैद गरेर लग्यो। 7 म गाजाका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ। 8 म अश्दोदको राजालाई र अश्कलोनको राजदण्ड लिनेलाई सर्वनाश पार्नेछु। म एक्रोनको विरुद्धमा मेरो हात चलाउनेछु, जबसम्म पलिश्तीहरू आखिरीसम्म मर्नेछैनन्,” परमप्रभु परमेश्वर भन्नुहुन्छ। 9 परमप्रभु यसो भन्नुहुन्छ: “टुरोसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले सम्पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्पिदिएको हुनाले, र दाजुभाइहरूले आपसमा बाँधेको करारको सम्झना नगरेकोले, 10 म टुरोसका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ।” 11 परमप्रभु यसो भन्नुहुन्छ: “एदोमका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले सबै दयालाई रोकेर एउटा तरवार लिई आफ्ना भाइहरूलाई खेदेको हुनाले, र त्यसको रीस निरन्तर दन्किरहेको र आफ्नो क्रोध सधैँसम्मको लागि जलिरहेकोले, 12 म तेमानमा आगो पठाइदिनेछु, र त्यसले बोज्राका किल्लाहरू भस्म पार्नेछ।” 13 परमप्रभु यसो भन्नुहुन्छ: “अम्मोनका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले आफ्ना साँधसिमाना बढ़ाउनलाई गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरेको हुनाले, 14 म रब्बाका पर्खालहरूमा आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू त्यस लड़ाइँको दिनमा होहल्लासँग, त्यो प्रचण्ड आँधीबेहरीको दिनमा भस्म पार्नेछ। 15 त्यसको राजा निर्वासनमा जानेछ, त्यो र त्यसका अधिकारीहरू सबै,” परमप्रभु भन्नुहुन्छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society