Aanlyn Bybel

- Advertensies -

प्रेरित 1 - नेपाली नयाँ संशोधित संस्करण


येशूको स्वर्गारोहण

1 प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्‍नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्‍तकमा मैले लेखेको छु।

2 आफैले छान्‍नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्‍माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्‍वर्गमा उचाली लगिनुभएको दिनसम्‍मका सबै कुरा त्‍यस पुस्‍तकमा लेखिएका छन्‌।

3 आफ्‍नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्‍मुख उहाँले आफैलाई जीवित प्रस्‍तुत गर्नुभयो। चालीस दिनसम्‍म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूलाई बताउनुभयो।

4 तिनीहरूसँग भोजनमा बस्‍नुहुँदा उहाँले तिनीहरूलाई यस्‍तो आदेश दिनुभयो, “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।”

5 किनभने यूहन्‍नाले त पानीले बप्‍तिस्‍मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्‍मामा तिमीहरूको बप्‍तिस्‍मा हुनेछ।”

6 यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राएल राज्‍यको पुनर्स्‍थापन गरिदिनुहुनेछ?”

7 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले आफ्‍नो अधिकारद्वारा तोक्‍नुभएको बेला वा समय जान्‍ने तिमीहरूको काम होइन।

8 तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीको अन्‍तिम छेउसम्‍म मेरा साक्षी हुनेछौ।”

9 उहाँले यो कुरा भन्‍नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्‍टिबाट लोप हुनुभयो।

10 जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए।

11 तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्‍वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गमा जानुभएको देख्‍यौ, त्‍यसरी नै उहाँ फेरि आउनुहुनेछ।”


मतियासको नियुक्ति

12 तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ।

13 सहर भित्र पसेपछि तिनीहरू माथिल्‍लो तलाको आफू बस्‍ने कोठामा उक्‍ले। तिनीहरूचाहिँ पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्‍फयसको छोरो याकूब र उग्रपन्‍थी दलको सिमोन र याकूबको छोरो यहूदा थिए।

14 कति जना स्‍त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्‍तर प्रार्थना गरिरहन्‍थे।

15 ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए (यी मानिसहरूको संख्‍या प्राय: एक सय बीस थियो), र भने,

16 “भाइ हो, धर्मशास्‍त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्‍माले बोल्‍नुभएको थियो।

17 किनकि त्‍यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्‍यसले हिस्‍सा पाएको थियो।”

18 त्‍यस मानिसले अधर्मको कमाइबाट एउटा जग्‍गा किन्‍यो, र उँधोमुन्‍टो भई खस्‍यो र त्‍यसको भुँड़ी फुट्यो, र त्‍यसका सबै आन्‍द्रा-भुँड़ी निस्‍के।

19 यो कुरा यरूशलेमका बासिन्‍दाहरू सबैलाई थाहा भयो। त्‍यो जग्‍गाको नाउँ तिनीहरूको आफ्‍नो भाषामा आखेल्‍दामा राखियो, अर्थात्‌ रगतको खेत।

20 पत्रुसले भने, “किनकि भजनको पुस्‍तकमा यसो लेखिएको छ, ‘त्‍यसको वासस्‍थान उजाड होस्, र त्‍यहाँ वास गर्ने कोही नहोस्, र त्‍यसको कार्य पदाधिकार अर्कोले लिओस्‌।’

21 यसैकारण हाम्रा साथमा रहने मानिसहरूमध्‍ये यस्‍तो एक जना छान्‍नु आवश्‍यक छ, जुन व्‍यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र-बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो,

22 अर्थात्‌ यस्‍तो व्‍यक्ति जो यूहन्‍नाको बप्‍तिस्‍मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनुभएको दिनसम्‍म हामीसँग थियो। त्‍यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्‍थानको साक्षी हुनुपर्छ।”

23 तिनीहरूले दुई जना, अर्थात्‌ बारसाबास भन्‍ने योसेफ, जसको कुलनाउँ युस्‍तस थियो, र मतियासको नाउँ प्रस्‍ताव गरे।

24 तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्‍नुहुने प्रभु, यी दुईमध्‍ये तपाईंले कसलाई चुन्‍नुभएको छ सो हामीलाई देखाउनुहोस्,

25 र त्‍यो यस सेवा र प्रेरितको काममा प्रवेश गर्न सकोस्, जुन सेवाबाट यहूदा भड्‌केर आफ्‍नो निज ठाउँमा मर्‍यो।”

26 अनि तिनीहरूले ती दुईका बीचमा गोला हाले, र मतियासको नाउँमा पर्‍यो, र एघार प्रेरितहरूसँग तिनको गणना भयो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Volg ons:



Advertensies