२ कोरिन्थी 1 - नेपाली नयाँ संशोधित संस्करण1 परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई, र साथै सारा अखैयामा भएका सबै सन्तहरूलाई: 2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। सान्त्वनाका परमेश्वर 3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्। 4 उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ, ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं। 5 किनकि जसरी हामी ख्रीष्टका कष्टमा प्रशस्त गरी सहभागी हुन्छौ, त्यसरी नै ख्रीष्टद्वारा सान्त्वनामा पनि प्रशस्त मात्रामा हामी सहभागी हुन्छौं। 6 हामीले दुःख पायौं भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो। हामीले सान्त्वना पायौं भने पनि त्यो तिमीहरूका सान्त्वनाको निम्ति हो। हामीले भोगेका त्यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्यही सान्त्वना अनुभव गर्छौ। 7 तिमीहरूका निम्ति हाम्रो आशा दृढ़ छ। किनकि हामी जान्दछौं, कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, त्यसरी नै हाम्रो सान्त्वनामा पनि तिमीहरू सहभागी हुनेछौ। 8 भाइ हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्ने किसिमले यति साह्रो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं। 9 हामीलाई त मृत्युदण्ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो। 10 उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ। 11 तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्युत्तरमा हामीलाई प्राप्त भएको आशिष्को निम्ति धेरैले हाम्रा पक्षमा धन्यवाद चढ़ाउनेछन्। पावलको योजनामा हेरफेर 12 यस कुरामा हामी गर्व गर्छौं, अनि हाम्रो विवेकले पनि त्यसको गवाही दिन्छ, कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्बन्धमा हामी पवित्रता र ईश्वरीय सत्यतामा चलेका छौं, यो सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्वरको अनुग्रहबाट हो। 13 किनकि तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही कुरा हामी तिमीहरूलाई लेख्दैनौं, र म आशा गर्दछु, कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, 14 कि जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, त्यसरी नै हाम्रा प्रभु येशूको दिनमा तिमीहरूले हामीलाई सम्पूर्ण प्रकारले बुझ्नेछौ, र तिमीहरू हाम्रा निम्ति गर्व गर्न सक्नेछौ, जसरी हामी तिमीहरूका निम्ति गर्व गर्न सक्नेछौं। 15 यो कुराको मलाई निश्चय भएको हुनाले, तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर तिमीहरूकहाँ पहिले आउने मैले इच्छा गरें। 16 माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्न र माकेडोनियाबाट तिमीहरूकहाँ फर्किआउने र त्यहाँबाट यहूदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्ने म चाहन्थे। 17 यो गर्न चाहँदा मैले अस्थिरता देखाएँ र? के मैले आफ्नो योजना बनाउँदा सांसारिक मानिसले जस्तो एउटै मुखले “हो” र “होइन” पनि भन्ने हुँ र? 18 परमेश्वर विश्वासयोग्य हुनुभएझैँ हाम्रो वचन पनि “हो” र “होइन” भएको छैन। 19 किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्वरका पुत्र येशू ख्रीष्ट “हो” र “होइन” हुनुहुन्नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ। 20 किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्छ। यसैकारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी “आमेन” भन्छौं। 21 तर हामीलाई तिमीहरूसँग ख्रीष्टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। 22 उहाँले हामीमाथि आफ्नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। 23 परमेश्वर मेरो साक्षी हुनुहुन्छ, कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्थमा आइनँ। 24 तिमीहरूको विश्वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौं। किनकि आफ्नो विश्वासमा तिमीहरू स्थिर छौ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society