२ इतिहास 1 - नेपाली नयाँ संशोधित संस्करणबुद्धिको निम्ति सोलोमनको प्रार्थना 1 दाऊदका छोरा राजा सोलोमनले आफ्नो राज्यमा अधिकार स्थिर गरे, किनभने परमप्रभु तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो। उहाँले तिनलाई महान् तुल्याउनुभयो। 2 तब सोलोमनले सबै इस्राएलसित, अर्थात् सहस्रपति र शतपति, न्यायकर्ताहरू र इस्राएलका सारा अगुवाहरू र परिवारका मुखियाहरूसित बातचीत गरे। 3 अनि तिनी र सबै समुदाय गिबोनमा भएको अग्लो स्थानमा गए, किनकि परमेश्वरका दास मोशाले उजाड़-स्थानमा बनाएको परमेश्वरको भेट हुने पाल त्यहीँ थियो। 4 दाऊदले चाहिँ परमेश्वरको सन्दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा ल्याएका थिए, किनभने तिनले यरूशलेममा नै त्यसको निम्ति पाल टाँगेका थिए। 5 तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्थानको सामुन्ने थियो। यसैकारण सोलोमन र सबै समुदाय त्यहीँ गए। 6 त्यहाँ भेट हुने पालमा परमप्रभुको सामुन्ने भएको काँसाको वेदीसम्म तिनी गएर त्यसमा एक हजार होमबलि चढ़ाए। 7 त्यस रात परमेश्वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्।” 8 सोलोमनले परमेश्वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान् र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्याउनुभएको छ। 9 अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्का गर्नुहोस्, किनभने पृथ्वीको धूलो जतिकै अनगन्ती प्रजामाथि तपाईंले मलाई राजा तुल्याउनुभएको छ। 10 अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्छ र?” 11 परमेश्वरले सोलोमनलाई भन्नुभयो, “तेरो इच्छा यही भएको हुनाले, र तैंले धन-सम्पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्ना शत्रुहरूको प्राण वा आफ्नो निम्ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले, 12 बुद्धि र ज्ञान तँलाई दिइनेछन्। अनि म तँलाई यस्तो धन-सम्पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्।” 13 तब सोलोमन गिबोनको अल्गो स्थानबाट, भेट हुने पालबाट यरूशलेममा आए, र इस्राएलमाथि शासन गर्न लागे। 14 सोलोमनले धेरै रथ र घोड़ाहरू जम्मा गरे। तिनका चौध सय रथ र बाह्र हजार घोड़ाहरू थिए। कोही तिनले रथ राख्ने सहरहरूमा र कोहीचाहिँ आफूसित यरूशलेममा राखे। 15 राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह अनि देवदारुचाहिँ पहाड़का अञ्जीरसरह प्रशस्त तुल्याए। 16 सोलोमनका घोड़ाहरू मिश्रदेश र क्यूएबाट पैठारी हुन्थे। राजाका व्यापारीहरूले ती क्यूएबाट किनेर ल्याउँथे। 17 प्रत्येक रथ सात किलोग्राम चाँदीमा र घोड़ाचाहिँ डेढ़ किलोग्राम चाँदीमा मिश्रबाट पैठारी गरिन्थे। त्यसरी नै हित्ती र अरामीहरूका सबै राजाहरूलाई निकासी गर्न व्यापारीहरूले प्राप्त गर्थे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society