Aanlyn Bybel

- Advertensies -

२ राजा 1 - पवित्र बाइबल


अहज्याहका लागि संन्देश

1 आहाब मरेपछि मोआब इस्राएलको विरूद्ध बागी भए।

2 एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरू कहाँ जाऊ। उनीहरूलाई सोध के म आफ्नो चोटबाट निको हुनसक्छु।”

3 तर परमप्रभुको स्वर्गदूतले तिश्बी एलियालाई भने, “राजा अहज्याहले सामरीयाबाट केही दूतहरू पठाए। जाऊ अनि ती मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीहरू किन एक्रोनका देवता बालजबूबलाई प्रश्न सोधि रहेका छौ?

4 तिमीले यस्तो गरेको हुनाले परमप्रभुले भन्नुहुन्छ, अहज्याह! तिमी आफ्नो ओछ्यानबाट उठ्नपाउने छैनौ, तिमी मर्ने छौ।’” त्यसपछि एलिया हिँडे।

5 दूतहरू अहज्याहकहाँ फर्केर आए। अहज्याहले दूतहरूलाई भने, “तिमी किन यति चाँडै फर्केर आयौ?”

6 दूतहरूले अहज्याहलाई भने, “एकजना मानिस हामीसँग भेट गर्न आयो। उसले हामीलाई राजाकहाँ फर्केर जानु अनि उनलाई परमप्रभुले भनेको कुरा भन्नु भन्यो। परमप्रभु भन्नुहुन्छ, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीले किन एक्रोनका देवता, बालजबूब समक्ष प्रश्न सोध्न दूतहरू पठायौ? तिमीले यस्तो काम गरेको हुनाले तिमी ओछ्यानबाट उठ्ने छैनौ, तिमी मर्ने छौ।’”

7 अहज्याहले दूतहरूलाई भने, “त्यो मानिस कस्तो देखिन्थ्यो जसले तिमीलाई भेट्यो अनि तिमीलाई यी कुराहरू भन्यो।”

8 दूतहरूले जवाफ दियो, “त्यो मानिस रौंयुक्त लुगा लगाएको थियो र कम्मरमा एउटा छालाको पेटी बाँधेको थियो।” तब अहज्याहले भने, “उनी तिश्बी एलिया हुन्।”


अहज्याहले पठाएका मानिसहरूलाई आगोले नष्ट पार्छ

9 अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।’”

10 एलियाले पचास जना मानिसहरूका कप्तानलाई उत्तर दिए, “यदि म परमेश्वरको जन हुँ, भने स्वर्गबाट आगो आओस्, अनि कप्तान अनि उनका पचास जना मानिसहरूलाई नष्ट पारोस्!” तब स्वर्गबाट परमेश्वरको आगो तल आयो अनि कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।

11 अहज्याहले अर्का कप्तानलाई पचास जना मानिसहरूसँगै एलियासमक्ष पठाए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले भनेका छन्, ‘चाँडै तल आऊ!’”

12 एलियाले कप्तान र उनका पचास जना मानिसहरूलाई भने, “यदि म परमेश्वरको मानिस हुँ, भने स्वर्गबाट आगो आओस् र तिमी र तिम्रा मानिसहरूलाई नष्ट पारोस्।” तब स्वर्गबाट आगो आयो र कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।

13 अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रो कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु।

14 स्वर्गबाट आगो आयो अनि पहिला दुइजना कप्तानहरू तथा उनीहरूका पचास जना मानिसहरूलाई नष्ट पार्यो। तर अब दया गर्नुहोस् अनि हामीलाई बाँच्न दिनुहोस्।”

15 परमप्रभुको स्वर्गदूतले एलियालाई भने, “कप्तानसँग जाऊ। उनीसित नडराऊ।” यसकारण एलिया कप्तानसँग राजा अहज्याहलाई भेट्न गए।

16 एलियाले अहज्याहलाई भने, “इस्राएलमा परमेश्वर हुनुहुन्छ: ‘यसकारण किन तिमीले एक्रोनका देवता बालजबूबसित प्रश्नहरू सोध्नलाई दूतहरू पठायौ। तिमीले यस्तो काम गरेको हुनाले, तिमी आफ्नो ओछ्यनबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।’”


योराम अहज्याहको ठाउँ ओगटछन्

17 परमप्रभुले एलिया मार्फत भन्नुभए अनुसार अहज्याहको मृत्यु भयो। अहज्याहको छोरा थिएन। त्यसकारण अहज्याह पछि योराम नयाँ राजा भए। योरामले यहोशापातका छोरा योहोराम यहूदाका राजा भएको दोस्रो बर्षमा शासन गर्न शुरू गरे।

18 अहज्याहले अरू जे कामहरू गरे ती सबै नै इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Volg ons:



Advertensies