Aanlyn Bybel

- Advertensies -

यशैयाको पुस्तक 1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यो आमोजका छोरा यशैयाले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा देखेको दर्शन हो।


बागी जाति

2 हे आकाश, सुन्! हे पृथ्वी, ध्यान दिएर सुन्! किनकि याहवेह भन्‍नुहुन्छ: “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्।

3 गोरुले आफ्नो मालिकलाई चिन्छ, र गधाले आफ्नो मालिकको डुँड चिन्छ। तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”

4 धिक्‍कार, त्यस पापी जाति, अपराधले लादिएको जाति, दुष्‍ट काम गर्नेहरूका सन्तान, भ्रष्‍ट भएका सन्तान! तिनीहरूले याहवेहलाई त्यागेका छन्; तिनीहरूले इस्राएलका पवित्र परमेश्‍वरलाई लत्याएका छन्, र उहाँतिर आफ्ना पिठिउँ फर्काएका छन्।

5 तिमीहरू किन अझै पिटाइ खान्छौ? तिमीहरू किन बागी भइरहन्छौ? तिमीहरूका शिरभरि चोट-चोटै छ; तिमीहरूका मुटुभरि पीडा छ।

6 खुट्टाको पैतालादेखि शिरसम्म स्वस्थता छैन। चोटहरू र निलो डामहरू, र उदाङ्गो घाउहरू छन्; ती घाउहरू सफा नगरिएका र पट्टी नबाँधिएका अथवा तेलले सेकिएका छैनन्।

7 तिमीहरूको देश उजाड छ, तिमीहरूका सहरहरू आगोले जलाइएका छन्; तिमीहरूका खेतहरू तिमीहरूकै सामु परदेशीहरूले उजाड पारिदिएका छन्; अपरिचितहरूले नाश पारिदिएझैँ, त्यो उजाड भएको छ।

8 सियोनकी छोरी दाखबारीको छाप्रोजस्तै, काँक्राबारीमा भएको छाप्रोजस्तै, घेरा हालिएको सहरजस्तै त्यागिएकी छ।

9 यदि सेनाहरूका याहवेहले हामी कसैलाई बचाएर नराख्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, हामी गमोराजस्ता बन्‍नेथियौँ।

10 हे सदोमका शासकहरू हो, याहवेहको वचन सुन; हे गमोराका मानिसहरू हो, हाम्रा परमेश्‍वरको व्यवस्था ध्यानसित सुन!

11 याहवेह भन्‍नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरा निम्ति के कामको छ र? मसित चाहिने भन्दा बढी साँढे र मोटा-मोटा पशुहरूका होमबलि छन्। साँढेहरू, थुमाहरू र बाख्राहरूको रगतले म प्रसन्‍न हुँदिनँ।

12 जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, के तिमीहरूलाई कसैले मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न भनेको छ र?

13 व्यर्थैका बलिहरू ल्याउन बन्द गर! तिमीहरूका धूप त मेरा निम्ति घृणित छ। औँसी, शब्बाथ र सभाहरूका साथसाथै तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ।

14 तिमीहरूका औँसीका चाडहरू, र तिमीहरूले ठहराएका चाडहरूलाई म मेरो सारा प्राणले घृणा गर्छु। ती मेरा निम्ति बोझ भएका छन्; ती बोक्दा-बोक्दै म थकित भइसकेको छु।

15 तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा, म आफ्ना आँखाहरू तिमीहरूबाट लुकाउनेछु; तिमीहरूले धेरै प्रार्थना गरे तापनि म त्यो सुन्‍नेछैनँ। तिमीहरूका हातहरू रगतले भरिएका छन्!

16 आफूलाई धोएर शुद्ध पार। तिमीहरूका दुष्‍ट कर्महरू मेरो दृष्‍टिबाट टाढा लैजाओ; खराबी गर्न छोड।

17 भलाइ गर्न सिक; न्याय खोज। थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ। अनाथहरूका पक्षमा बोल; विधवाहरूको मुद्दा लडिदेओ।”

18 याहवेह भन्‍नुहुन्छ, “अब आओ, हामी एकसाथ विचार गरौँ। तिमीहरूका पाप सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्; ती गाढा राता रङ्गका भए तापनि ती ऊनजस्तै सेता हुनेछन्।

19 यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने, तिमीहरूले देशका सर्वोत्तम कुराहरू खानेछौ;

20 तर यदि तिमीहरूले विरोध गर्‍यौ र बागी भयौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि याहवेहले बोल्नुभएको छ।

21 हेर, एउटा विश्‍वासयोग्य सहर कसरी वेश्याजस्तै भयो! कुनै समय त्यो न्यायपूर्ण थियो; धार्मिकताले त्यसमा वास गर्थ्यो, तर अहिले हत्याराहरूले वास गर्छन्!

22 तेरो चाँदी फोहोर भएको छ, तेरो उत्तम दाखमद्यमा पानी मिसाइएको छ।

23 तेरा शासकहरू बागी, र चोरहरूका साथीहरू बनेका छन्; तिनीहरू सबैले घूस मन पराउँछन्, र उपहारहरूको पछि लाग्छन्। तिनीहरूले अनाथहरूका पक्ष लिदैनन्; विधवाहरूको उजुर तिनीहरूकहाँ पुग्दैन।

24 यसकारण प्रभु, सेनाहरूका याहवेह इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर घोषणा गर्नुहुन्छ: “आह! म आफ्ना शत्रुहरूमाथि क्रोध खन्याउनेछु। आफ्ना शत्रुहरूसँग म आफैँ बदला लिनेछु।

25 म आफ्नो हात तेरो विरुद्ध फर्काउनेछु; म तेरो फोहोरलाई पूर्ण रूपमा सफा गर्नेछु, र तेरा सबै अशुद्धताहरूलाई हटाइदिनेछु।

26 म तेरा न्यायकर्ताहरूलाई पुरानो समयमा भएकाजस्तै, तेरा सल्‍लाहकारहरूलाई सुरुका समयमा भएकाजस्तै फेरि स्थापित गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर; एउटा विश्‍वासयोग्य सहर भनिनेछस्।”

27 सियोन न्यायसित छुटाइनेछ। त्यहाँका पश्‍चात्ताप गर्नेहरू धार्मिकतासँगै छुटाइनेछन्।

28 तर बागीहरू र पापीहरू दुवै तोडिनेछन्; याहवेहलाई त्याग्नेहरू नाश हुनेछन्।

29 “तिमीहरूले आनन्द मानेका ती फलाँटका पवित्र रूखहरूको कारण तिमीहरू लज्जित हुनेछौ; तिमीहरूले रोजेका ती बगैँचाहरूको कारण नै तिमीहरू अपमानित हुनेछौ।

30 तिमीहरू पात झर्दै गरेका फलाँटका रूखहरूजस्तै, पानी नभएका बगैँचाजस्तै हुनेछौ।

31 शक्तिशाली मानिस सुकेको दाउरा र त्यसको काम झिल्काजस्तै हुनेछ; ती दुवै एकैसाथ जल्नेछन्, त्यो आगोलाई निभाउने कोही हुनेछैन।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Volg ons:



Advertensies